रौतहट । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको जानकारी दिए । गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार १ः०० बजेदेखि आज बिहान ६ः३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो । ६ः३० बजेदेखि ८ः३० बजेम्म निषेधाज्ञालाई खुकुलो बनाइएको थियो ।
रौतहट सदरमुकाम गौरमा दुई समुदायबिच भएको विवाद झडपको स्थितिमा पुगेपछि चुनावका वेला सामाजिक सद्भाव बिथोलिने चिन्ता बढेको छ । स्थितिलाई सामान्य अवस्थामै फर्काउन जिल्ला प्रशासन कार्यालयले गौरमा कर्फ्यु लगाएको छ भने सडकमा सेनासमेत परिचालन गरिएको छ । सामाजिक सद्भाव भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक शेख जमसेदलाई पक्राउसमेत गरेको छ । शेख गौर नगरपालिका– ६ का पूर्वअध्यक्षसमेत हुन् ।
बिहीबार राति पौने १० बजेतिर विवाहको जन्ती बौधिमाई नगरपालिका– ९, सरमुजवाबाट गौर– ६, सबगढातर्फ मस्जिदको बाटो हुँदै बाजा बजाउँदै जानेक्रममा स्थानीय दुई समुदायबिच विवाद भएको थियो । त्यतिवेलै ढुंगा हानाहान हुँदा ६ जना घाइते भएका थिए ।
भोलिपल्ट शुक्रबार दिनभर पनि झडप भएपछि प्रशासनले दुवै पक्षलाई राखेर ६ बुँदे सहमति गराएको थियो । तर, शनिबार पनि बिहानैबाट पुनः झडप निम्तिएपछि प्रशासनले कफ्र्यु लगाएको हो ।
रौतहट घटनाको बारेमा छलफल गर्न शनिबार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेकाे थियाे।








