नवलपुर। जिल्ला हुलाक कार्यालय ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पु¥याउने सेवा सुरु गरेको छ । जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालय बीचको समझदारीअनुसार हुलाकमार्फत राहदानी वितरण सेवा लागू गरिएको हो ।

जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटा का अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ ।

ADVERTISEMENT

सेवाको सुरुआत कावासोती–१६ पिप्रेनी निवासी अमित परियार को राहदानी घरमै पुगेर हस्तान्तरण गर्दै गरिएको हो । अमितको मञ्जुरीमा उनकी आमा विमला परियार लाई राहदानी बुझाइएको कार्यालयले जनाएको छ ।

यसअघि राहदानी लिन सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता रहेकामा अब घरमै सेवा उपलब्ध हुँदा नागरिकलाई सहज हुने विश्वास गरिएको छ । हुलाक अधिकृत सापकोटाले सरकारले नागरिकमैत्री सेवा विस्तार गर्ने योजनाअनुसार यो सेवा सुरु गरिएको बताए ।

ADVERTISEMENT

राहदानी घरमै प्राप्त गरेपछि खुसी व्यक्त गर्दै विमला परियारले प्रशासन कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटेको र समयसँगै यातायात खर्चसमेत बचत भएको बताइन् ।

कार्यालयका अनुसार नवलपुरको पहाडी क्षेत्रसम्म पनि यो सेवा विस्तार गरिनेछ । सम्बन्धित पालिकाको समन्वयमा हुलाक कार्यालयमार्फत राहदानी घरदैलोमै पु¥याइने व्यवस्था मिलाइएको जनाइएको छ ।