जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ । जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा राहदानी सेवाग्राहीको घरमै पुर्याइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
राहदानी शाखाका प्रमुख नरबहादुर बुढाका अनुसार प्रशासन कार्यालय र हुलाक कार्यालयबीच भएको सम्झौताअनुसार गत वैशाख २४ गते पहिलोपटक ६१ वटा राहदानी हल्कारामार्फत घरमै पुर्याइएको थियो । त्यसपछि वैशाख २८ गते १९ वटा तथा जेठ ५ गते २५ वटा राहदानी वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत पहिलोपटक जिल्लामा यस्तो सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार अब राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिकलाई घरदैलोमै सेवा दिन थालिएको हो ।
जिल्ला हुलाक कार्यालयमार्फत राहदानी सम्बन्धित व्यक्तिको घरमै सुरक्षित रूपमा पुर्याइने व्यवस्था गरिएको छ । राहदानी बुझ्दा नागरिकता, राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्रजस्ता आधिकारिक सरकारी कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्ने प्रशासनले जनाएको छ ।
यदि अन्य व्यक्तिमार्फत राहदानी बुझ्नुपर्ने भएमा सम्बन्धित व्यक्तिसँगको एकाघरको नाता खुल्ने कागजात आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
हुलाक कार्यालय जुम्लाका निमित्त प्रमुख गणेशदत्त रावलका अनुसार हुलाकमार्फत राहदानी वितरणसम्बन्धी सम्झौतापछि सेवाग्राहीलाई बढीमा तीन दिनभित्र राहदानी सुरक्षित रूपमा घरमै पुर्याइने व्यवस्था मिलाइएको छ ।








