काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । दिनभर करेक्सन भए पनि बजार बन्द हुने बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.८३ अंकले वृद्धि भएर २९६०.४० अंकमा पुगेको छ ।

सेयर बजारको परिसूचक नेप्से करिब आठ महिनाकै उच्च अंक हो । कारोबार रकम केही घटेको छ । सोमबार १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको भयो ।

१३६ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ । व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशत बढेको छ । बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११, उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशत बढेका छन् ।

आज ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा राधी विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट छन् ।