काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दायर भएका छन्। बुधबार दर्ता भएका ती रिटको पेसी बिहीबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन्।

नवनियुक्त महान्यायाधिवक्ताको योग्यतामा नै प्रश्न रहेको भन्दै अधिवक्ता माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट दायर गरेका हुन्। उनीहरूले डा. कँडेल उक्त पदका लागि आवश्यक अनुभव र योग्यता नपुगेको दाबी गरेका छन्।

रिटमा महान्यायाधिवक्ता जस्तो संवेदनशील पदमा अयोग्य व्यक्ति नियुक्त हुनु गलत भएको उल्लेख गर्दै नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए। संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीश सरहको पदका लागि कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको अनुभव आवश्यक हुने भए पनि कँडेलले त्यो योग्यता पूरा नगरेको दाबी रिटमा गरिएको छ।