काठमाडौं । नेपाली कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूकोे उपस्थितिका लागि मुख्यसचिब दुलालले सूचना जारी गरेर अनुरोध गरेका छन् ।
यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । बैठकले सभापति गगन थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो । मंगलबार बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने नेताहरूले बताएका छन् ।
भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुने भएका छन् । निर्वाचनपछि थापा पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको थियो । अब सभापति थापाकै अध्यक्षतामा बैठक बस्ने नेताहरूको भनाइ छ । थापा हाल परिवारका सदस्यसँग पाेखरामा छन् ।
फागुन २१ गतेसम्म आमनिर्वाचनमा कांग्रेसले सर्मनाक पराजय बेहोरेपछि थापाले नैतिक रूपले जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका थिए । तर कांग्रेस बैठकले उनको राजीनामा अस्वीकार गरेपछि थापा पुनः नेतृत्वमा फर्कन लागेका हुन् । भोलिको बैठकले कांग्रेसको नियमित १५औं महाधिवेशनको कार्यतालिका ल्याउने बताइएको छ ।






