काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेलाई समयअनुकूल रूपान्तरण नगरे भविष्यमा बलियो राजनीतिक शक्ति बन्न नसक्ने चेतावनी दिएका छन्। उनले पार्टीलाई पुनः सशक्त बनाउन विगतका उपलब्धिमा मात्र निर्भर नहुन आग्रह गर्दै भविष्यकेन्द्रित सोच आवश्यक रहेको बताएका हुन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै एमालेका नेता पाण्डेले पार्टी पुनः पुरानै लयमा फर्कन सक्ने विश्वास व्यक्त गरेका छन्। तर त्यसका लागि सोच र कार्यशैलीमा परिवर्तन अनिवार्य भएको उनको भनाइ छ।

उनका अनुसार एमाले केवल राजनीतिक संगठनमा सीमित नरही देशका जटिल समस्या समाधान गर्ने सक्षम र प्रविधिमैत्री संस्था बन्नुपर्छ। उनले वर्तमान परिस्थितिमा परम्परागत शैलीले मात्र काम नचल्ने स्पष्ट पारेका छन्।

तीन प्रमुख सुधारको प्रस्ताव

पाण्डेले पार्टी सुदृढीकरणका लागि तत्काल तीन क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

१. विज्ञतामा आधारित राजनीति:
उनले अबको राजनीति भाषणमुखी नभई तथ्य र विश्लेषणमा आधारित हुनुपर्ने बताए। अर्थतन्त्रजस्ता जटिल विषयमा विषयविज्ञ र अर्थशास्त्रीसँग सहकार्य गरेर ठोस कार्ययोजना तयार गर्नुपर्ने उनको सुझाव छ।

२. डिजिटल मेरिटोक्रेसी:
पार्टीभित्र व्यक्तिगत पहुँच र प्रभावका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने परिपाटी अन्त्य गर्नुपर्ने उनको धारणा छ। यसको सट्टा आधुनिक प्रविधिमा आधारित पारदर्शी मूल्याङ्कन प्रणाली लागू गरेर कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मूल्यांकन गर्नुपर्ने उनले बताएका छन्।

३. संरचित पुस्तान्तरण:
नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने र अनुभवी नेताहरूको ज्ञान उपयोग गर्ने सन्तुलित मोडल आवश्यक रहेको पाण्डेको जोड छ। उनले सह–नेतृत्व र मार्गदर्शन प्रणालीमार्फत पुस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन्।

परिवर्तनको आवश्यकता

पाण्डेका अनुसार एमालेले आफूलाई समयअनुकूल रूपान्तरण गर्न सकेमा मात्र भविष्यमा अझ सशक्त र प्रभावकारी राजनीतिक शक्ति बन्न सक्छ। उनले पार्टीभित्र सुधारको प्रक्रिया ढिला गर्न नहुने संकेत पनि गरेका छन्।