ताप्लेजुङ। ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा यस वर्ष पाँचौँ पटक हिमपात भएको छ। शुक्रबार साँझदेखि सुरु भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
केही दिनयता मौसम धुम्मिएको अवस्थामा आज परेको हिमपातले पाथीभरा क्षेत्र फेरि सेताम्मे बनेको छ। यस वर्ष हालसम्म उक्त क्षेत्रमा पाँच पटक हिउँ परिसकेको बताइएको छ।
हिमपातसँगै पाथीभरा दर्शन गर्न आउने भक्तजनको संख्या बढेको छ। दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रबाट पनि मानिसहरू त्यहाँ पुगिरहेका छन्।
यस्तै, हिमपातपछि ताप्लेजुङ जिल्लाभर चिसो बढेको छ। जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयले बताएका छन्।





