काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.५१ अंक बढेर २८१२.३४ विन्दुमा पुगेको छ। सोमबार घटेर बन्द भएको नेप्से आज भने बढेर बन्द भएको छ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार ११ अर्ब ९७ करोडको कारोबार भएको थियो । आज ३४० स्टकको एक लाख ६ हजार १४० पटकको कारोबारमा १२ अर्ब तीन करोड ४४ लाख ६ हजार रुपैयाँबराबरको तीन करोड ४८ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
मंगलबार रिडी पावर कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको साढे ५१ करोड र नेसनल हाइड्रोपावरको कारोबार रकम ४८ करोड रुपैयाँको कारोबार भएको छ ।
आज चार स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। शिवश्री हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशत बढेको छ।






