काठमाडौं। नेपाल आयल निगमले विश्व बजारमा देखिन सक्ने पेट्रोलियम पदार्थको असहज परिस्थितिलाई ध्यानमा राख्दै उपभोक्तालाई इन्धन र खाना पकाउने एलपी ग्यास मितव्ययी रूपमा प्रयोग गर्न विशेष अपिल गरेको छ।
निगमले बुधबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय स्तरमा देखिएका समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न सबैले पूर्वसावधानी अपनाउनुपर्ने जनाएको छ।
निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ तथा ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ। विशेषगरी मासिक एक सिलिन्डर मात्र ग्यास खपत हुने परिवारले अतिरिक्त सिलिन्डर नभर्न र खाना पकाउन ग्यासको सट्टा सकेसम्म विद्युतीय उपकरण प्रयोग गर्न सुझाव दिएको छ।
त्यसैगरी इन्धन बचतका लागि सवारीसाधनमा ‘राइड सेयरिङ’ को व्यवस्था अपनाउन र विद्युत् उत्पादनका लागि जेनेरेटरजस्ता बढी इन्धन खपत गर्ने उपकरण प्रयोग नगर्न पनि निगमले अनुरोध गरेको छ।
निगमका अनुसार मध्यपूर्वमा देखिएको समस्याका कारण हालसम्म नेपालको आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर नपरेको भए पनि नेपाल पूर्णरूपमा आयातमा निर्भर भएकाले पूर्वतयारी आवश्यक छ। औद्योगिक क्षेत्रमा समेत इन्धन र ग्यासको खपत कम गर्नुपर्नेमा निगमले जोड दिएको छ।
निगमले हाल आपूर्ति व्यवस्था नियमित रहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
विज्ञप्तिमा अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गर्ने, तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने वा नयाँ सिलिन्डरको अनावश्यक बजारीकरण गर्ने पाइए नेपाल सरकारको प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ।
आपूर्ति सहज राख्न र सम्भावित जोखिम न्यूनीकरण गर्न सबै सरोकारवाला पक्षलाई सचेत र जिम्मेवार बन्न निगमले आग्रह गरेको छ।








