काठमाडौँ । नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिण्डरको दरमा खाना पकाउने एलपी ग्यास बिक्री सुरु गर्ने निर्णय गरेको छ। निगमका अनुसार प्रतिसिलिण्डरमा ७.१ किलो ग्यास उपलब्ध गराइनेछ र मूल्य ९ सय ५५ रूपैयाँ तोकिएको छ।

निगमले बजारमा ग्यास अभाव नभएको बताउँदै आएको भए पनि करिब दुई/तीन महिनादेखि उपभोक्ताले ग्यासको लागि संघर्ष गर्दै आएका छन्। निगमले काठमाडौं उपत्यकामा माग उच्च भएपछि र आवश्यकता भन्दा बढी ग्यास भण्डारण हुने प्रवृत्ति बढेपछि यस्तो निर्णय गरेको जनाएको छ। बिहीबारदेखि नै बालाजु औद्योगिक क्षेत्रमा ग्यास लिन उपभोक्ताको लामो लाइन देखिएको छ।

ADVERTISEMENT

भारतमा पनि ग्यासको अभाव देखिन थालेको छ। केही दिनअघि भारतले घरेलु प्रयोगका एलपी ग्यास रिफिल बुकिङको न्यूनतम अवधि २१ दिनबाट बढाएर २५ दिन पुर्‍याएको समाचारहरू आएका थिए।

नेपालले आवश्यक पेट्रोलियम पदार्थ भारत सरकारको स्वामित्व रहेको इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट आयात गर्दछ। अमेरिकी–इस्राएली हमला र इरानका तेल प्रसोधन क्षेत्रमा अवरोधका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढेको छ। होर्मुज मार्गमा अवरोध देखिएकाले तेल आपूर्ति प्रभावित भएको र यसले नेपालमा पनि ग्यासको माग बढाएको छ।

भारत हाल एलपी ग्यास विशेषगरी साउदी अरेबिया, युएई र कतारबाट आयात गर्छ। भारतले अमेरिकाको गल्फकोस्ट र नर्वेबाट पनि ग्यास आयात गर्ने पहल गरिरहेको समाचारहरू बाहिरिएका छन्।