झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार रास्वपाका उम्मेदवारहरू विभिन्न क्षेत्रमा प्रतिस्पर्धी दलका उम्मेदवारभन्दा अगाडि देखिएका हुन्।
निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले ५ हजार २५४ मतसहित अग्रता लिएका छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले १ हजार ५७९ मतसहित पछ्याइरहेका छन्।
यसैगरी क्षेत्र नम्बर ४ मा रास्वपाका शम्भुप्रसाद ढकालले १ हजार ७७५ मतसहित अग्रता लिएका छन् भने नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ३०० मतसहित दोस्रो स्थानमा छन्।
क्षेत्र नम्बर ३ मा रास्वपाका प्रकाश पाठकले २ हजार २८१ मतसहित सुरुवाती अग्रता कायम गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देन १ हजार ६१० मतसहित दोस्रो स्थानमा छन्।
यस्तै क्षेत्र नम्बर २ मा रास्वपाकी उम्मेदवार इन्दिरा रानामगरले ४ हजार ५८० मतसहित अग्रता लिएकी छन् भने नेकपा (एमाले)का देवराज घिमिरे ७१६ मतसहित पछ्याइरहेका छन्।
क्षेत्र नम्बर १ मा पनि रास्वपाकी उम्मेदवार निशा डाँगीले ३ हजार १७० मतसहित अग्रता लिएकी छन्। उनलाई श्रम संस्कृति पार्टीका केबल राईले १ हजार ३२० मतसहित पछ्याइरहेका छन्।
झापाका पाँचै क्षेत्रमा प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवारहरूले अग्रता लिएको देखिए पनि अन्तिम परिणाम आउन भने मतगणना सकिन बाँकी छ।