काठमाडौं। नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ आयोजना हुने भएको छ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी र नेपाल सेफ सोसाइटीको संयुक्त आयोजनामा आगामी जेठ १ र २ गते झापाको पाथिभरा कुलिनरी आर्ट्स कलेज मा प्रतियोगिता सञ्चालन हुने जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

ADVERTISEMENT

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले प्रतियोगिताले नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतासँग जोड्ने विश्वास व्यक्त गरे।

उनले नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा प्रतियोगिता केन्द्रित रहने बताए।

ADVERTISEMENT

उनले भने, “विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत परिकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्ताका सेफलाई सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्नु हाम्रो उद्देश्य हो।”

कार्यक्रममा खुला पाककला प्रतियोगिता, विभिन्न खाद्य प्रतिस्पर्धा तथा खाद्य महोत्सवसमेत आयोजना गरिनेछ। आयोजकका अनुसार महोत्सवमा ५० भन्दा बढी स्टल रहनेछन्, जहाँ स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्मका परिकारको स्वाद लिन सकिनेछ।

प्रतियोगितामा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय सेफ निर्णायकको रूपमा सहभागी हुनेछन्। उनीहरूको सहभागिताले नेपाली सेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन र अनुभव आदानप्रदानको अवसर मिल्ने आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धकले सेफहरू विश्वव्यापी जनशक्ति भएको उल्लेख गर्दै उनीहरूले स्थानीय तहसम्म सहकार्य गर्दै समाज र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए।

उनले पाककलालाई राजधानीबाहिर विस्तार गर्नु साहसिक कदम भएको उल्लेख गर्दै यसले स्थानीय पर्यटन, उत्पादन र संस्कृतिको थप प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा सहभागिताका लागि तीन सदस्यीय टोली अनिवार्य गरिएको छ। सहभागी टोलीहरूले सोसाइटीको आधिकारिक खातामा दर्ता शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्नुपर्नेछ।

प्रतियोगिताका विजेताले प्रथम पुरस्कारस्वरूप १ लाख रुपैयाँ, द्वितीयले ७५ हजार रुपैयाँ र तृतीयले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

आयोजकका अनुसार प्रतियोगिताले पाककला क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने  छ।