काठमाडौं । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ। झापाको मेचीनगर–१२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिकाका २७ वर्षका भुवन विकको मृत्यु भएको हो।
रोजगारीका लागि बोस्नियामा रहेका उनीहरू घुम्नका लागि क्रोएसिया जाँदा दुर्घटना भएको एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले जानकारी दिए। दुर्घटना फेब्रुअरी १२ तारिखमा भएको थियो।दुर्घटनामा एक नेपाली महिला र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। घाइतेहरूको उपचार जारी रहेको छ।
साइमन तामाङका अनुसार मृतकहरूको शव नेपाल ल्याउन पहल भइरहेको छ। भियना स्थित दूतावाससँग समन्वय गरी शव नेपाल ल्याउन करिब ६ हजार यूरोभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। शव ल्याउने प्रक्रियामा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासँग पनि समन्वय गरिएको छ।यो समूहमा क्रोएसियाको भ्रमणमा तीन नेपाली र एक पाकिस्तानी रहेका थिए।







