काठमाडौं । निर्वाचन आयोगले हेलिकप्टरबाट ६१ विभिन्न स्थानबाट मतपेटिका संकलन गर्ने भएको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले ताप्लेजुङसहित ६१ स्थानबाट मतपेटिका हेलिकप्टरबाट संकलन ६१ स्थानबाट मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिने जानकारी दिए। उनका अनुसार हुम्ला र डोल्पाका २७ स्थानमा मतपत्र, कर्मचारी र सुरक्षाकर्मीलगायतका निर्वाचन सामग्री हेलिकप्टरबाट पठाइएको छ।

सचिव राउतले ३ क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। मतगणना स्थलमा सुरक्षा व्यवस्था पनि मिलाइएको उनले बताए। उनका अनुसार मतगणना स्थलमा काँडेतार, सीसीटीभीलगायतका सुरक्षा व्यवस्था मिलाइएको छ।

आयोगले मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ। निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका संकलन छिटोभन्दा छिटो गर्ने प्रयास गर्ने बताए।

‘छिटो हुन नसक्ने ठाउँमा हेलिकप्टरबाट पनि हामी संकलन गर्छौँ। मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ। साथसाथै समानुपातिकको पनि छिटै सार्वजनिक गर्छौँ,’ उनले भने । आयोगले गरेको वाचा पूरा गरेरै छाड्ने जिकिर गरे।