काठमाडौँ, १३ फागुन। नेपाली सेनाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एकीकृत सुरक्षा योजनाअनुसार व्यापक सुरक्षा व्यवस्थापन गरेको छ। निर्वाचनअघि, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा प्रबन्ध मिलाइएको सेनाले जनाएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति पाएपछि सेना निर्वाचन सुरक्षामा परिचालित भएको हो। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम र संयुक्त अभ्यास सम्पन्न भइसकेका छन्।

सेनाले यसअघि नै मतपत्र छपाइस्थलको सुरक्षा जिम्मेवारी पूरा गरिसकेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ७५ जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा पनि छिट्टै पुर्‍याइने छ। भौगोलिक अवस्थाअनुसार पाँच जिल्लामा हवाई र अन्य जिल्लामा स्थलमार्गबाट सामग्री ढुवानी गरिएको हो।

निर्वाचनका क्रममा सेना तेस्रो सुरक्षा घेरामा रही मतदान केन्द्र, मतगणना स्थल, हवाई गस्ती र शंकास्पद वस्तु निष्क्रिय पार्ने कार्यमा खटिनेछ। निर्वाचन सम्पन्न भएपछि अन्य सुरक्षा निकाय र निर्वाचन अधिकृतसहितको टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

निर्वाचन सुरक्षालाई बलियो बनाउन स्थानीय प्रशासन र सरोकारवाला निकायसँग समन्वय गर्दै देशभर विभिन्न स्थानमा बेस स्थापना गरी नियमित गस्ती भइरहेको सेनाले जनाएको छ। दुर्गम क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाएर बाटो खुलाउने र सामग्री ढुवानीमा सहयोग गर्ने काम पनि भइरहेको छ।

कारागार, विमानस्थल, सरकारी कार्यालयलगायत ११६ महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना परिचालित छ। निर्वाचन सुरक्षा गतिविधिको केन्द्रीय र स्थानीय तहबाट निरन्तर अनुगमन भइरहेको छ।

सेनाले निर्वाचन आचारसंहिता र मानवअधिकारको पालना गर्दै सरकार, निर्वाचन आयोग र अन्य सुरक्षा निकायसँग सहकार्य गरेर शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि संयुक्त राष्ट्र संघको शान्ति स्थापना अभियानमा काम गरेको अनुभव रहेको सेनाले उल्लेख गरेको छ।

सरकारको प्रतिबद्धता र सुरक्षा निकायको सक्रियताले यसपटकको प्रतिनिधिसभा निर्वाचन सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।