नवलपरासी (बर्दघाट सुस्तापूर्व)। प्रधानमन्त्री कार्कीले कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँगको संवादमा आगामी प्रतिनिधिसभा निर्वाचनबारे जानकारी दिएका छन्।
प्रधानमन्त्री कार्कीले भने, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग प्रदान गर्नेछ। विशेषगरी हिमाली जिल्ला र अन्य प्रतिकूल वातावरण भएका स्थानमा मौसम अनुकूल नभएमा निर्वाचन दोस्रो चरणमा गराउन सकिने व्यवस्था छ।”
उहाँले कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदान प्रक्रिया सञ्चालन गरिने र सम्भव नभए दोस्रो चरणमा मतदानको व्यवस्था गर्न सकिने पनि स्पष्ट पारे। अहिलेसम्म निर्वाचन सार्नुपर्ने अवस्था नआएकोले आगामी फागुन २१ गते निर्धारित निर्वाचन समयमै सञ्चालन हुनेमा प्रधानमन्त्री विश्वस्त छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकार शत प्रतिशत प्रयासरत रहेको उल्लेख गरे। “निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेछ,” उनले भने।
उहाँले थप भने, “विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आउँदा पनि समाधान गरेर मतदान प्रक्रिया पूरा गराइने व्यवस्था छ। समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हाल्ने र देशलाई नयाँ दिशातर्फ अघि बढाउने विश्वास राखिएको छ।”
प्रधानमन्त्रीको यो भनाइले निर्वाचनको तयारी, चुनौती र संभावित विकल्पहरूलाई स्पष्ट पार्दै हिमाली जिल्ला लगायत अन्य प्रतिकूल स्थानमा मतदानको सुनिश्चितता गर्ने सरकारको प्रतिबद्धता प्रस्तुत गरेको छ।





