धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित चरौंदी क्षेत्रमा भएको बस दुर्घटनामा घाइते भएका यात्रुमध्ये २४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब सवा १ बजे त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको प्रहरीले जनाएको छ भने २५ जना घाइते भएका छन्।
घाइतेमध्ये २४ जनालाई अवस्था अनुसार थप उपचारका लागि काठमाडौंस्थित अस्पताल पठाइएको हो। एक जना घाइते भने मलेखु टिचिङ अस्पतालमै उपचाररत छन्। उनी न्युजिल्यान्डकी नागरिक भएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले काठमाडौं नजाने निर्णय गरेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको थियो। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
धादिङ बस दुर्घटना : २४ घाइतेलाई काठमाडौं पठाइयो, एक विदेशी नागरिक मलेखुमै उपचाररत






