काठमाडौँ । भारतले चिया आयातसम्बन्धी कडा नियम लागू गरेको केही सातापछि नयाँ संशोधन गर्दै घरेलु बिक्रीका लागि आयात हुने चियामा तत्कालका लागि अनिवार्य परीक्षण नगर्ने निर्णय गरेको छ। भारतीय टी बोर्डले जारी गरेको ‘कोरिजेन्डम–२’ अनुसार भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई ), भन्सार विभाग, टी बोर्ड र वाणिज्य विभागबीच भएको संयुक्त बैठकपछि नयाँ व्यवस्था लागू गरिएको हो।

यसअघि टी बोर्ड इन्डियाले मे १, २०२६ देखि भारत प्रवेश गर्ने सबै चियाको  खेपमा अनिवार्य ल्याब परीक्षण लागू गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले नेपाली चिया निर्यातकर्तामा ठूलो चिन्ता पैदा गरेको थियो, किनभने भारत नेपालबाट चिया निर्यात हुने प्रमुख बजारमध्ये एक हो।

ADVERTISEMENT

नयाँ संशोधनअनुसार पुनः निर्यातका लागि आयात हुने चियामा भने टी बोर्डले अनिवार्य परीक्षण जारी राख्नेछ। तर केवल भारतीय घरेलु बजारमा बिक्रीका लागि आयात हुने चियामा भन्सार वा एफएसएसएआईले आफ्नो जोखिम व्यवस्थापन प्रणालीअनुसार नमुना परीक्षण गर्ने व्यवस्था कायम गरिएको छ। यस्ता चिया खेपलाई तत्कालका लागि टी बोर्ड इन्डियाले परीक्षण नगर्ने उल्लेख गरिएको छ।

त्यस्तै, चिया परीक्षण गर्ने प्रयोगशालाले नमुना प्राप्त भएको पाँच दिनभित्र परीक्षण प्रतिवेदन अपलोड गर्नुपर्ने व्यवस्था पनि संशोधनमार्फत गरिएको छ।

भारतले हालै चिया आयातमा कडाइ गर्दै ल्याब परीक्षण, नमुना संकलन र विस्तृत विवरण अनिवार्य गरेको थियो। भारतीय आयातकर्ताले टी काउन्सिल पोर्टलमार्फत चिया खेपको आगमन मिति, गोदाम स्थान, कन्टेनर विवरण र प्रोफर्मा इनभ्वाइस बुझाउनुपर्ने व्यवस्था गरिएको थियो। प्रत्येक नमुनामा ११ हजार १२० भारतीय रुपैयाँ तथा जीएसटी शुल्क लाग्ने व्यवस्था पनि गरिएको थियो।

भारतीय पक्षले यी नियम घरेलु चिया उद्योगको संरक्षण, गुणस्तर नियन्त्रण र मिसावट रोक्नका लागि ल्याइएको जनाएको छ। पछिल्लो समय सस्तो विदेशी चिया आयात बढ्दै जाँदा भारतीय चिया उद्योगले दबाब महसुस गरिरहेको थियो।

यस निर्णयले नेपाली चिया उद्योगमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको थियो। नेपालका चिया निर्यातकर्ताले अनिवार्य परीक्षण र अतिरिक्त शुल्कका कारण निर्यात ढिलो हुने, लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने चिन्ता व्यक्त गर्दै आएका थिए।

नयाँ संशोधनपछि नेपाली चिया निर्यातकर्ताले केही राहत महसुस गरे पनि दीर्घकालीन रूपमा भारतको आयात नीति अझ कडा हुन सक्ने आशंका कायमै रहेको उद्योगीहरूको भनाइ छ। नेपालका अधिकांश अर्थोडक्स चिया भारत हुँदै तेस्रो मुलुकमा समेत निर्यात हुने भएकाले भारतीय नीतिगत परिवर्तनले नेपाली चिया क्षेत्रलाई प्रत्यक्ष असर पार्ने विश्लेषण गरिएको छ।