जनकपुरधाम । जनकपुरमा पहिलो दिन सातवटा सार्वजनिक पोखरी अतिक्रमणमुक्त गरिएको छ।
शनिबार गिरनारी (गोरधोइ) पोखरी, दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउमा डोजर चलाएर अतिक्रमण हटाइएको हो।
अतिक्रमण गरेर बनाइएका ६५ वटा घरटहरा भत्काइएको गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले जानकारी दिनुभयो।
अतिक्रमित संरचना हटाउन साउन १ गते नै सूचना जारी गरिएको थियो। अतिक्रमण हटाउने क्रममा डोजरसहित बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
पोखरेलका अनुसार अब अर्को चरणमा अतिक्रमणमुक्त गरिने पोखरीको रेखांकन गरिनेछ। त्यसपछि योजना बनाएर क्रमशः अतिक्रमण हटाउने काम अघि बढाइनेछ।
समितिले पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गर्ने लक्ष्य राखेको छ। कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य गुठी जग्गाबाट अतिक्रमण हटाइनेछ।
पोखरी तथा गुठी जग्गा अतिक्रमणमुक्त गराउने क्रममा २०६२ सालमा जनकपुरको गुठी अतिक्रमित जग्गा पहिचान गर्न भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलको प्रतिवेदनलाई आधार बनाइएको समितिले जनाएको छ।






