काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक आज घटेर बन्द भएको हो।

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१६ अंक घटेर २६६२.९१ विन्दुमा झरेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

ADVERTISEMENT

गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । सोमबार ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा सात अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको एक करोड ९६ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

रिडी हाइड्रोपावर कम्पनीको ६५ करोड ३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको करिब साढे ५२ करोड रुपैयाँ र ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँको कारोबार भएको छ ।

आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। रिलायन्स र सालपा गत बिहीबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका कम्पनी हुन्।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।