काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २२ दशमलव ५८ अंकले गिरावट आएको छ। नेप्सेमा कारोबार भएका २०६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से घटेर २५0५.५८ अंकको विन्दुमा आएको हो ।

नेप्सेमा गिरावट आए पनि कारोबार भएका कम्पनीमध्ये ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ । तर, पाँचवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

मंगलबारको तुलनामा नेप्सेमा बुधबार कारोबार रकमसमेत खुम्चिएर तीन अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँको मात्रै भयो ।

बैंकिङ शून्य दशमलव ५४, विकास बैंक एक दशमलव १४, वित्त एक दशमलव १०, होटल तथा पर्यटन एक दशमलव शून्य ६, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ९८, जीवन बिमा शून्य दशमलव ७५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ५६ र निर्जीवन बिमा समूह शून्य दशमलव ६५ प्रतिशतले घटेको छ ।

विन्ध्यवासिनी हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको बजारमा मनकामना इञ्जिनियरिङ हाइड्रोपावर पाँच दशमलव ८७ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७५ प्रतिशतले घटेका छन् । त्यस्तै आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६ दशमलव ९३ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २० करोड ५४ लाख चार हजार ३६७ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा युनियन हाइड्रोपावर लिमिटेडको सेयर दुई लाख ७३ हजार ३२२ कित्ता खरिदबिक्री भएको छ ।