काठमाडौं । काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्वरको पूर्व अरनिको यातायात सेवा समितिको यात्रु बाहक बस मन्थली नगरपालिका–६ भलुवाजोरस्थित लिलौटी भन्ने स्थानमा दुर्घटना हुँदा नौजनाको ज्यान गएको छ ।
दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए । बस सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।
रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ । बस दुर्घटना र यात्रुको संख्या एकिन भएको छैन ।






