काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति थापाले आज शोक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाको खबरले आफूलाई अत्यन्तै मर्माहत बनाएको उल्लेख गरेका छन्। उनले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन् भने शोकमा रहेका परिवारजनप्रति पार्टी तथा आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार जन्ती बोकेको बस दुर्घटनामा परेको थियो। बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौंडी–७ बडगाउँ मोडमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा आठ जनाको घटनास्थलमै र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। सो दुर्घटनामा ३४ जना घाइते भएका छन्, जसको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ।






