काठमाडौं । संघीय संसद्का सदस्यका लागि नयाँ ड्रेस कोड लागू गरिएको छ। अब सांस्कृतिक पोसाक नलगाउने सांसदले संसद्मा उपस्थित हुँदा कोट अनिवार्य रूपमा लगाउनुपर्ने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सांसदका लागि ड्रेस कोड निर्धारण गर्दै तोकिएको पोसाक नलगाई आउने सांसदलाई सदनमा प्रवेश गर्न नदिने तथा रोष्ट्रममा बोल्न नदिने चेतावनी दिएका छन्।
बैठकमा सभामुखले सांसदको पोसाकबारे विभिन्न टिप्पणी भइरहेको उल्लेख गर्दै संसद्को गरिमा कायम राख्न सांस्कृतिक पहिचान झल्कने पोसाक लगाउन वा त्यसको विकल्पका रूपमा कोट अनिवार्य गर्नुपर्ने बताएका हुन्।
यससँगै सांसदहरूले संसद्को लोगो अनिवार्य रूपमा लगाउनुपर्ने तथा बैठकमा उपस्थित हुन नसक्ने अवस्थामा पूर्वजानकारी गराउनुपर्ने व्यवस्था पनि स्मरण गराइएको छ।
बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई संसद्मा उपस्थित गराउन माग गरेका थिए। उक्त मागप्रति सभामुख अर्यालले सहमति जनाउँदै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक र सचेतकले आवश्यक भूमिका खेल्नुपर्ने बताएका छन्।
त्यसैगरी, संसद्मा विशेष समयका लागि छुट्याइने समयसमेत बढाउने निर्णय भएको छ।












