काठमाडौँ। सरकारले स्वास्थ्य बिमा प्रणालीमा देखिएका समस्याको समाधानका लागि पहल सुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमासँग सम्बन्धित समस्या समाधानका विषयमा सरोकारवाला पक्षसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेकी छन् ।

केही समययता देशका विभिन्न भागका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम समयमै नपाएको भन्दै सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमा रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको जनाउँदै आएका छन् ।

ADVERTISEMENT

स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थाहरूलाई १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । बिमा भुक्तानीमा ढिलाइ हुँदा स्वास्थ्य संस्थाको दैनिक सञ्चालन र बिमित नागरिकको उपचार सेवामा प्रत्यक्ष असर परेको बताइएको छ ।

सरकारले सरोकारवाला निकायसँग छलफलमार्फत समस्या समाधानका उपाय खोज्ने तयारी थालेको जनाएको छ । बैठकपछि स्वास्थ्य बिमा प्रणालीलाई सहज र प्रभावकारी बनाउने विषयमा ठोस निर्णय आउने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT