जुम्ला। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लाका १ हजार २ सय ७७ जना किशोरीलाई क्यान्सरविरुद्धको एचपीभी (HPV) खोप लगाउने भएको छ।चैत ९ गतेदेखि सुरु हुने यस अभियानअन्तर्गत जिल्लाका ८ स्थानीय तहका ८४ वटा विद्यालयलाई खोप केन्द्रका रूपमा तोकिएको छ। विद्यालयमा आधारित खोप कार्यक्रममार्फत कक्षा ६ देखि १० सम्म अध्ययनरत १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्मा ले जानकारी दिए।

उनका अनुसार किशोरीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको हो। “विद्यालयमै पुगेर खोप लगाइनेछ, लक्षित उमेर समूहका कुनै पनि किशोरी खोपबाट वञ्चित हुने छैनन्,” उनले बताए।

जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्य ले अभियान प्रभावकारी बनाउन सूक्ष्म योजना तयार गरी कार्यान्वयन रणनीतिबारे छलफल गरिएको जानकारी दिए। उनका अनुसार स्थानीय तह, विद्यालय र स्वास्थ्यकर्मीबीच समन्वय मजबुत बनाइएको छ।

ADVERTISEMENT

तथ्यांकअनुसार चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी २७७ किशोरी खोपका लागि योग्य छन्। पातारासी र हिमा गाउँपालिकामा समान २२१ जना, तिला गाउँपालिकामा १८५, तातोपानीमा १६४, कनकासुन्दरीमा १७७, सिजामा १३५ र गुठिचौरमा ७७ किशोरी खोप लगाउने सूचीमा रहेका छन्।

ADVERTISEMENT

गत वर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई समेटिएको भए पनि यस वर्ष कक्षा ६ देखि नै अभियान केन्द्रित गरिएको छ। यसले दीर्घकालीन रूपमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास जनस्वास्थ्य कार्यालयले लिएको छ।“कुनै पनि किशोरी छुट्न नदिने र दोहोरिने अवस्था आउन नदिने गरी सूक्ष्म योजना बनाइएको छ,” प्रमुख शर्माले बताए।

जनस्वास्थ्य सेवा कार्यालयले चालु आर्थिक वर्षमा एचपीभी खोप कार्यक्रम प्रभावकारी बनाउन पूर्वतयारीस्वरूप अभिलेख तथा प्रतिवेदनसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेको छ। उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।