काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपत्तिको समयमा सरकारलाई पार्टीका तर्फबाट पूर्ण सहयोग गर्ने बताएका छन्। कांग्रेस पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै थापाले संकटको समयमा सरकारले नेतृत्व लिनुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर सहयोग गर्ने बताए।
राहत तथा उद्धारमा देखिएका कमजोरी औँल्याउनु पनि पार्टीको जिम्मेवारी भएको बताउँदै थापाले कहाँ समन्वयको कमी छ र कहाँ काम हुन सकेको छैन भनेर पहिचान गर्नु सरकारको आलोचना नभई सहयोग भएको उल्लेख गरे।
बैठकमा थापाले कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा देशभरका निर्वाचित जनप्रतिनिधिलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरे।
पार्टीका विभिन्न समितिबाट संकलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा बुझाउने तयारी रहेको उनले बताए। राहत वितरणमा दोहोरोपन नहोस् भनेर पार्टीले यस्तो निर्णय गरेको थापाको भनाइ छ।
विशेषगरी सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि नेपालसँग पर्याप्त प्राविधिक क्षमता वा विज्ञता नभए बाह्य सहयोग लिन संकोच गर्न नहुने उनले बताए। यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग समेत छलफल गरिसकेको जानकारी दिँदै थापाले नागरिकको ज्यान जोगाउन आवश्यक परे बाहिरबाट सहयोग लिनुपर्ने धारणा राखे।
विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका निर्णायक हुने उल्लेख गर्दै थापाले संघीय सरकारले स्थानीय सरकारसँग उचित समन्वय गर्नुपर्नेमा जोड दिए। ‘स्थानीय सरकारलाई बाइपास गरेर विपद्को सामना गर्न सकिँदैन, उनीहरूलाई नै सक्रिय र जिम्मेवार बनाउनुपर्छ,’ उनले भने।
थापाले भोलि आफैँ बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी अवस्था बुझ्ने र थप राहतका लागि पहल गर्ने बताए। बैठकमा नुवाकोट, रसुवा र धादिङका नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए।






