काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सहिद सप्ताहको अन्तिम दिन लैनचौरस्थित सहिद स्मारक पुगेर ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। प्रजातन्त्र, राष्ट्र, स्वतन्त्रता तथा जनताको अधिकारका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा ज्यान आहुति दिने वीर सहिदको सम्मानमा प्रधानमन्त्रीले श्रद्धाञ्जली अर्पण गरेकी हुन्।

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि सहिद सप्ताहका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत आज सहिद उद्यान, लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।

ADVERTISEMENT

सहिद दिवसको अवसरमा आज बिहान शान्तिवाटिकाबाट प्रभातफेरी सुरु गरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास तथा सहिदका तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो।

श्रद्धाञ्जली सभामा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल, विभिन्न मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन र स्वाभिमानका लागि विगतमा भएका संघर्ष र त्यागलाई कहिल्यै बिर्सन नहुने बताइन्।

ADVERTISEMENT

सहिद दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।