काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । दिनभरको उतारचढावपछि नेप्से परिसूचकमा सामान्य वृद्धि भएको हो ।

कारोबार सुरु भएदेखि नेप्से परिसूचक घट्ने क्रममा थियो । दिउँसो साढे १ बजेतिर नेप्से परिसूचक १७ अंकले घटेको थियो । तर बजार बन्द हुने बेला नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा कायम छ ।

तर बुधबार कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १३ अर्बको कारोबार भएकामा आज दुई करोड ६१ लाख बराबरको सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड बराबरको कारोबार भएको छ ।

आज १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको ८३ करोड ५७ लाख बराबरको सेयर कारोबार भएको छ । त्यसपछि राधी विद्युत कम्पनीको ५४ करोड, साइप्यानल नेपालको ४९ करोड, युनाइटेड मोदी हाइड्रोको ४८ करोड ७८ लाख र रिभर फल्स पावर लिमिटेडको ३० करोडभन्दा बढीको कारोबार भएको छ ।

आज दुईवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनी छन् । यस्तै, मिथिला लघुवित्त, पिपुल्स पावर लिमिटेड र बुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी सकारात्मक सर्किट लागेको छ । लगानीकर्ता जलविद्युत कम्पनीको सेयर किन्न र बेच्न झुम्मिएका छन् ।