काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। उनी सोमबार पोखराबाट पक्राउ परेका हुन्।

प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिएको आरोप लगाएका थिए। उनले शुक्रबार ५२ करोडको लेनदेन भएको भन्दै मोबाइलमा देखाएका थिए । प्रसाईंको यो अभिव्यक्तिपछि निर्वाचन आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाईंले केही समयअघि विभिन्न माग राखी निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका थिए। माघ २ गते उनको समूह र सरकारबीच सहमति भएसँगै महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको थियो। तर कांग्रेसको विवादमा उनीमाथि अर्को अभियोग थपिएको छ ।