काठमाडौं । चार महिना थुनामा रहेर बाहिर आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले चैत १५ मा काठमाडौंको तीनकुने घटनापछि आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै प्राप्त गरेको दाबी गरेका छन् ।

थुनामुक्त भएको १५ दिनमा सोमबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उनले यस्तो दाबी गरेका हुन् । ‘अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्,’ उनले भने । राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको उनले दाबी पनि गरे ।

प्रसाईले मार्ने योजना भएको सूचना पाएपछि आफू भागेको बताए । ‘तर म भाग्दैनथें, मार्छन् भन्ने सूचना आएपछि गएँ । सात आठ दिनपछि त म आउने नै थिएँ,’ उनले भने । उनले आफू पुग्दा पहिल्यै गोली चलिसकेको र आफूलाई पनि ताकेर गोली हानिएको जिकिर गरे ।

निकै मलिन अनुहारमा प्रस्तुत भएका प्रसाईले देशको परिवर्तनका लागि आफूले नेतृत्व लिने पनि दाबी गरे । विगतमा जस्तै उनी मारवाडी व्यापारी व्यवसायीप्रति आक्रामक भएर प्रस्तुत भए । उनले यो देश मारवाडी, विचौलिया र दलालले सखाप पारेको आरोप लगाए । ‘यहाँ राष्ट्रवादी भएर बाँच्न गाह्रो रहेछ, तर दलाल भएर बाँच्न सजिलो छ,ड उनले भने ।

प्रसाई मिडिया र पत्रकारप्रति पनि आक्रोशित देखिए । उनले मिडियालाई मारवाडीले दिएको विज्ञापन नछाप्न आग्रह गर्दै खान नभए आफूले चामल किनिदिने बताए । ‘तपाईहरु मारवाडीले दिएको विज्ञापन नछाप्नुस्, बरु खानै नपुगेमा मै चामल किनिदिउँला,’ प्रसाईले भने ।