काठमाडौं । राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन्। सोमबार विज्ञप्ति जारी गर्दै उनले आलोचना, फरक मत तथा मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गरेका छन्।
नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नति–प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको उनको भनाइ छ।
‘सरकारको आलोचना गर्नै नपाइने हो भने त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ।
राणाले विविध आस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव, सम्मान र सहअस्तित्व नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गर्दै पछिल्ला दिन देशका केही क्षेत्रमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले यस्तो संवेदनशील अवस्थामा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नु, दिगो शान्तिको वातावरण कायम गर्नु तथा सरकारको जवाफदेहिताका लागि खबरदारी गर्नु नागरिकको कर्तव्य भएको बताएका छन्।
राणाले प्रसाईको तत्काल रिहाइ गर्न सरकारसँग मागसमेत गरेका छन्। आइतबार राति पक्राउ परेका प्रसाईं अहिले भक्तपुर प्रहरीको हिरासतमा छन् । उनले तराई मधेशमा रविले रास्वपाकै नेता कार्यकर्ता उतारेर ह्रिसा मच्चाएको र गृहमन्त्री सुधन गुरुङले वार्ताको नाटक गरेको बताएका थिए ।





