काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से झिनो अंकले बढेको छ । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन नेप्से सकारात्मक भएर बन्द भएको छ। भोलि बिहीबार माघे संक्रान्ति पर्व रहेकाले सार्वजनिक बिदा दिइएको छ । जसकारण नेप्से बन्द हुनेछ ।
मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक आज १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ। कारोबार रकम भने घटेको छ। मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज ३२० स्टकको ७२ हजार ६७१ पटकको कारोबारमा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँबराबरको एक करोड २५ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज राधी विद्युत कम्पनीको २६ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। युनियन हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढी र एसवाई प्यानल नेपालको २२ करोड रुपैयाँ कारोबार भएको छ।
बुधबार सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत बढेको छ। थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।
१३ उपसमूहमध्ये आज आठ उपसमूहको परिसूचक बढेको छ । पाँच उपसमूहको परिसूचक घटेको छ।





