काठमाडौं । चालु आर्थिक वर्ष ०८२/०८३ को चार महिनामा २० वाणिज्य बैंकले १९ अर्ब नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुले कुल १९ अर्ब ३७ करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्ने पहिलो नम्बरमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले चार महिनामा २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कमाएको छ ।

चार महिनामा दोस्रो धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । बैंकले कात्तिक महिनामा २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै तेस्रो धेरै नाफा कमाउनेमा प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले असोजसम्ममा १ अर्ब ५८ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । चार महिनामा धेरै नाफा कमाउनेको चौथो नम्बरमा एनएमबी बैंक रहेको छ । बैंकले सो अवधिमा १ अर्ब २७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

चार महिनामा  एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ भने  कुमारी बैंक लिमिटेडले १ अर्ब १८ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, कात्तिक मसान्तसम्ममा हिमालयन बैंक लिमिटेडले कात्तिक महिनामा ८२ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ भने प्रभु बैंकले ७३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । चार महिनामा नेपाल इनभेष्मेन्ट मेगा बैंकले ६३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, लक्ष्मी सनराइज बैंकले ६२ करोड ८१ लाख नाफा आर्जन गरेको छ । कात्तिक महिनासम्ममा एनआईसी एशिया बैंकले ३४ करोड ३४ लाख रुपैयाँ नाफा कमाउँदा सानिमा बैंक लिमिटेडले ७७ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ ।

कात्तिक मसान्तसम्ममा सिटिजन्स इन्टरनेश्नल बैंकले १ करोड ६४ लाख नाफा कमाएको छ भने कृषि विकास बैंकले ७ करोड ४९ लाख नाफा कमाएको छ ।

माछापुछ्रे बैंकले चार महिनामा ६० करोड ९९ लाख नाफा कमाउँदा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १ अर्ब १३ करोड ४४ लाख नाफा कमाएको छ ।

त्यस्तै, कात्तिक मसान्तसम्ममा नेपाल बैंक लिमिटेडले ८० करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गर्दा विदेशी लगानीको स्ट्यार्डड चार्टर बैंकले ९१ करोड ५८ लाख नाफा आर्जन गरेको छ । नेपाल एसबीआई बैंकले ६७ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने सिद्धार्थ बैंक लिमिटेडले ६६ करोड २७ लाख नाफा कमाएको छ ।