काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सन् २०२५ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले बुधबार एक कार्यक्रमका बीच ‘बैंक अफ द इयर २०२५’ अवार्ड सिटिजन्स बैंकलाई प्रदान गरेको हो । यसअघि सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड पनि सिटिजन्स बैंकले नै पाएको थियो ।
बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका थिए । समारोहमा करिव १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायत गरी चार सयभन्दा बढी उपस्थित थिए ।
बैंकका अध्यक्ष पाण्डेले लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको बताए । आगामी दिनमा अझै जिम्मेवार बनेर उत्कृष्ट ग्राहक मैत्री आधुनिक बैंकिङ सेवासुविधा दिने उनको भनाइ छ ।
सीईओ पोखरेलले सम्पूर्ण सरोकारवाला निकायको सहयोग एवं कर्मचारीहरूको अहोरात्र मिहिनेतबाट अवार्ड प्राप्त गर्न सफल भएको बताए । भविष्यमा थप उत्कृष्ट कार्यसहित सुशासन र प्रुडेन्ट बैंकिङ र हरित बैंकिङ सेवा सुविधामा थप जोड दिने उनको भनाइ छ ।
नेपालमा सन् २००२ देखि लगातार बैंकहरूले उक्त अवार्ड प्राप्त गरिरहेका छन् । हाल अस्तित्वमा रहेका ९ वटा बैंकले मात्र यो अवार्ड प्राप्त गरेका छन् ।
फाइनान्सियल टाइम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको वार्षिक सूची द फाइनान्सियल टाइम्सको म्यागजिन द बैंकरमार्फत प्रकाशित हुने गरेको छ ।
सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले हालसालै नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ ।
बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय शाखा, १६९ एटीएम, तीन विस्तारित काउण्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट १९ लाख ५६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।





