काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले केही समयअघि सामाजिक सञ्जालमा ‘धनुषा-३’ लेख्दै आगामी चुनावको लक्ष्य भएको उल्लेख गरेका थिए । उनले लाक्षणिक रूपमा फागुन २१ गते हुने निर्वाचनमा धनुषा ३ बाट उम्मेदवारी दिन्छु भन्न खोजेको प्रस्टै बुझिन्छ । त्यसयता उनी पटकपटक जनकपुरधाम जाने गरेका छन् ।

धनुषा-३ नेपालको चर्चित निर्वाचन क्षेत्रमध्येमा पर्छ । यहाँ विगतमा कांग्रेसका विमलेन्द्र निधि, एमालेकी जुली महतो, एमाले, माओवादी हुँदै अहिले नेकपामा रहेका रामचन्द्र झाले चुनाव जित्दै आएका छन् । यही निर्वाचन क्षेत्रमा मनिष झाले चुनाव लड्ने संकेत गरेका हुन् ।

ADVERTISEMENT

यस्तै, पूर्वनिजामती कर्मचारी धनञ्जय रेग्मीले अहिलेदेखि नै स्याङ्जा २ मा चुनाव प्रचार सुरु गरिसकेका छन् । आगामी चुनावमा यो क्षेत्रमा आफू रास्वपाबाट उम्मेदवार हुने भन्दै उनले भेटघाट थालेका छन् । उनी घरघर पुगेर भोट माग्ने गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । स्याङ्जा २ विगतमा कांग्रेस नेता गोपालमान श्रेष्ठले चुनाव जित्दै आएको क्षेत्र हो । यो निर्वाचन क्षेत्रमा अघिल्लोपटक कांग्रेस उपसभापति धनराज गुरुङले एमाले सचिव पद्मा अर्याललाई पराजित गरेका थिए । यो निर्वाचन क्षेत्रमा रास्वपाले रेग्मीलाई उम्मेदवार बनाउन खोजेको देखिन्छ ।

यसबाहेक अन्य निर्वाचन क्षेत्रमा रास्वपाका केन्द्रीयदेखि जिल्लास्तरका नेता कार्यकर्ताले आफू उम्मेदवार बन्ने दाबी गर्दै प्रचार प्रसार गर्न थालेपछि रास्वपाले आफूखुसी उमेदवारी घोषणा नगर्न आग्रह गरेको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उमेदवार हुने, उमेदवारको आकांक्षी रहेको, उमेदवारी घोषणा गरिसकेको वा उमेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उमेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ,’ पार्टीले भनेको छ ।

ADVERTISEMENT

हाल रुपन्देही-३ का निम्ति मात्र उमेदवार औपचारिक रूपमा चयन गरिएको रास्वपाले जनाएको छ । ‘यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उमेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ, उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले भनेका छन् ।

आचार्यद्वारा हस्ताक्षरित ‘हार्दिक अनुरोध’ शीर्षकको सूचनामा उमेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको उल्लेख छ । ‘तसर्थ, पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उमेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचारप्रसार वा गतिविधि नगर्नरनगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौँ,’ उनले भनेका छन् ।

रास्वपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्दै आएको छ । तर यसपटक भने साधारण सदस्यले नै आफूले आफैंलाई उम्मेदवार घोषणा गर्न लागेको देखिन्छ ।