काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट वितरणमा पारदर्शिता नभएको भन्दै असन्तुष्ट दर्शकहरू प्रदर्शनमा उत्रिएका छन्।

शुक्रबार दिउँसो १ बजेबाट टिकट बिक्री सुरु हुने भनिए पनि बिक्री खुल्नुअघि नै टिकट ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरू आक्रोशित भएका हुन्।

ADVERTISEMENT

यसअघि बिहीबार पनि दर्शकहरूले त्रिवि क्रिकेट मैदानको गेटमा पुगेर प्रदर्शन गरेका थिए। शुक्रबार पनि उनीहरूले ‘कालोबजारी बन्द गर’ लगायतका नारा लगाउँदै नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीविरुद्ध नाराबाजी गरेका छन्।

ADVERTISEMENT

टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समयमै अनलाइनमा प्रवेश गरेका प्रयोगकर्ताले समेत टिकट खरिद गर्न नसक्नुले विवाद थप चर्किएको हो। टिकट वितरण प्रक्रियामा पारदर्शिता नभएको भन्दै सामाजिक सञ्जालदेखि त्रिवि क्रिकेट मैदानसम्म दर्शकहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्।

एनपीएलको तेस्रो संस्करणको फाइनल खेल आज साँझ ५ बजे त्रिवि क्रिकेट मैदानमा हुँदैछ। उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

फाइनल खेल हेर्न टिकट नपाएको र वितरण प्रक्रियामाथि प्रश्न उठाउँदै दर्शकहरू प्रदर्शनमा उत्रिएका हुन्।