काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले पार्टीले जेन जी आन्दोलनको भावनालाई सम्मान गर्दै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न विधान नै संशोधन गर्नुपर्ने बताएका छन् ।

उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै निर्वाचन अगावै पार्टीलाई रूपान्तरण गरेर जानुपर्नेमा जोड दिए । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले उक्त धारणा राखेका हुन ।

ADVERTISEMENT

केन्द्रीय सदस्य ढुङ्गानाले जेनजी आन्दोलनले मुलुक बनाउन चाहने युवाहरूको जोश देखाएको भन्दै कांग्रेसले त्यसलाई उच्च सम्मान गर्नुपर्ने बताए  ।
उनले पार्टीको विधान संशोधन गरेरै भएपनि पार्टीका समितिहरू र आधिकारिक उम्मेदवारको रूपमा कम्तिमा २५ प्रतिशत युवा कोटा सुरक्षित गर्नुपर्ने माग गरे। साथै, पार्टीको क्रियाशील सदस्यताको २० प्रतिशत ३० वर्षमुनिका युवाहरूलाई वितरण गरिनुपर्ने र पार्टीमा रूपान्तरणका लागि रिटायरमेन्ट तथा कुलिङ पिरियडको व्यवस्था लागू गर्नुपर्नेमा उनले जोड दिए ।

भ्रष्टाचारमा शून्य सहनशीलता र तीन गुना बिगो

ADVERTISEMENT

भाद्र २३ गतेको जेनजी आन्दोलनलाई भ्रष्टाचार विरुद्धको युवा चाहनाको रूपमा व्याख्या गर्दै उनले २४ गतेको घटनामा भने घुसपैठ भएका कारण क्षति भएको बताए ।
ूभ्रष्टाचारमा पार्टीले शून्य सहनशीलताको नीति लिनुपर्छ,उनले भने ‘भ्रष्टाचारको मुद्दा पर्दा पार्टीबाट निलम्बन गर्ने र ठहरिएमा तीन गुना बढी बिगो रकम बुझाउने गरी कानुनमै उल्लेख गर्न पार्टीले संकल्प प्रस्ताव तयार गर्नुपर्छ।’

निर्वाचन र अदालतको फैसला

केन्द्रीय सदस्य ढुङ्गानाले प्रतिनिधि सभा विघटन पश्चात नयाँ सरकार गठन भएर निर्वाचनमा जानु समय सान्दर्भिक माग भएको बताए।
ूकांग्रेस निर्वाचनका लागि तयार हुनुपर्छ, उनले भने, ‘ विधिको शासन र संवैधानिक कानुन मान्ने देशमा विचाराधीन विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको फैसला जे(जस्तो आएपनि त्यसलाई आत्मसात गरेर पार्टी अगाडि बढ्नुपर्छ।’

महाधिवेशनबारे स्पष्ट धारणा

पार्टीको पन्ध्रौं महाधिवेशनको सन्दर्भमा बोल्दै उनले निर्वाचन अघि कि पछि भन्ने विषयमा पार्टीलाई बन्दी बनाउन नहुने बताए । उनले ुजेन(जी आन्दोलनपछिको भावनाअनुसार आम कांग्रेस कार्यकर्ताहरू पार्टी पुनर्गठित र रूपान्तरित भएर मात्र निर्वाचनमा जान चाहेको धारणा राखे ।
ूविगतमा निर्वाचनअघिका महाधिवेशनले पारेका असरहरूको सूक्ष्म अनुसन्धान हुनुपर्छ, ढुङ्गानाले भने, ‘आम कार्यकर्ताको भावनालाई समेटिने गरी पुनर्गठित र रूपान्तरित काङ्ग्रेसका साथ निर्वाचनमा जानुपर्छ।’
ढुंगानाले  महाधिवेशनका लागि पार्टीमा एकताको सन्देश दिने गरी स्पष्ट कार्यतालिका आधिकारिक रूपमा तयार गरी केन्द्रीय समितिले निर्णय गर्नुपर्छ। भन्नेमा जोड दिए ।