काठमाडौं । जेनजी आन्दोलनको मौका पारी नख्खु जेल ब्रेक गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अनुसन्धानमा तानिएका छन् । जेनजी प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित न्यायिक जाँचबुझ आयोगले लामिछानेसँग बयान लिने भएको हो।

सहकारी बचत रकम अपलचन मुद्दामा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्। उनीसँग मंगलबार नै बयान लिने आयोगको तयारी छ ।

ADVERTISEMENT

रवि भदौ २४ गते जेलबाट निस्केका थिए। चौतर्फी विरोध भएपछि उनी केही समयपछि फेरि नख्खु कारागार फर्केका थिए। रवि जेलबाट निस्केपछि उनकै सिको गरेर देशभरका कारागारा र बालसुधार गृहबाट गरी १४ हजार कैदीबन्दीले जेल ब्रेक गरेका थिए । तीमध्ये अझै पाँच हजार कैदीबन्दी फरार छन् ।

जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ। त्यसैले अब लामिछानेसँग पनि बयानको तयारी भएको आयोग स्रोतले बतायो ।

ADVERTISEMENT

भदौ २४ गते जेलबाट निस्कँदा लामिछानेले कारागारले आफूलाई पत्रसमेत दिएको बताएका थिए। तर बयानका क्रममा नख्खु कारागार प्रमुख जोशीले उक्त पत्र लामिछानेलाई आफूले नदिएको बताएका छन्।

रास्वपा सभापति लामिछानेले नख्खु कारागारबाट निस्केको केही समयपछि फेसबुकमा भिडिओ सन्देश पोस्ट गर्दै कारागारबाट निस्किने आफ्नो चाहना नभएको बताएका थिए। उनले भिड बढेपछि कारागारले नै आफूलाई जबजृस्ती बाहिर निकालेको दाबी गरेका थिए। उनले आफू प्रक्रिया पुर्‍याएर बाहिरिएको बताएका थिए। रविलाई जेलबाट निकाल्न डिपी अर्याल, मनिष झा, हरि ढकाल, दीपक बोहोरोलगायत नख्खु कारागार पुगेका थिए ।