काठमाडौं । गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट अनधिकृत रूपमा बाहिर निस्किएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सभापति रवि लामिछानेसहितका नेता र जेलरलाई कारबाहीको सिफारिस गरेको छ ।
जेल ब्रेक कार्य कानूनविपरीत रहेको तथा मानवअधिकार उल्लंघन मात्र नभई कारागार ऐन, २०७९ को दफा ४९ अनुसार फौजदारी अपराधसमेत हुने उल्लेख गरिएको छ। प्रतिवेदनमा रवि लामिछाने कारागारबाट बाहिर निस्किएको घटनामा कसको कस्तो संलग्नता थियो भन्ने विषयमा विस्तृत अनुसन्धान गर्नुपर्ने उल्लेख छ ।
यस क्रममा नख्खु कारागारका जेलर सत्यराज जोशी, रास्वपा नेताहरू मनीष झा, हरि ढकाल, दीपक बोहोरालगायतलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरिएको छ। दोषी ठहर भएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोगले रास्वपा सांसदहरू गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, सोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष एवं रास्वपा सांसद सुधन गुरुङ, आशिका तामाङलगायतलाई अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।












