वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता हुँदैछ । ट्रम्प पुनः राष्ट्रपतिमा फर्केपछि जेलेन्स्कीबीच यो चौथो भेट हो र एक महिनाभित्र दोस्रो प्रत्यक्ष भेटसमेत हो ।

जेलेन्स्की र ट्रम्पबीचको यो भेट ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको लामो टेलिफोन वार्ताको भोलिपल्ट हुँदैछ । वार्तामा दुवै नेताले युक्रेन युद्धबारे विस्तृत छलफल गरेका थिए ।

ट्रम्पले किएभलाई लामो दूरीको टोमहाक क्रूज मिसाइल बिक्री गर्ने सम्भावना न्यून रहेको संकेत गरेका छन् । युक्रेनी पक्षले ती मिसाइलहरूलाई आफ्नो रक्षा र प्रतिआक्रमणका लागि अत्यावश्यक बताउँदै आएको छ ।

हालसम्म ट्रम्पले युक्रेनलाई टोमहाक मिसाइल बिक्री गर्ने सम्भावनाप्रति खुलापन देखाएका थिए । तर पुटिनले यस्तो कदमले अमेरिका–रूस सम्बन्धमा गम्भीर तनाव ल्याउने चेतावनी दिएपछि ट्रम्प पछि हट्न लागेका हुन् ।

पुटिनसँगको संवादपछि भने ट्रम्पको धारणा बदलिएको देखिएको छ । लगभग एक हजार ६०० किलोमिटर (९९५ माइल) दूरीसम्म मार गर्नसक्ने यी मिसाइलहरू युक्रेनले मागिरहेको भए पनि ट्रम्पले त्यसबारे संकेत गर्दै भनेका छन्, ‘हामीलाई पनि टोमहाक चाहिन्छ । हाम्रो देशलाई कमजोर बनाउने गरी हामी आफ्नै आवश्यक हतियारहरू बाँड्न सक्दैनौँ ।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी भूमिमा गहिरो आक्रमण गर्न र प्रमुख सैन्य स्थल, ऊर्जाकेन्द्र र पूर्वाधारमा प्रहार गर्न यी मिसाइलहरूको आवश्यकता रहेको बताउँदै आएका छन् । यस्तो क्षमता प्राप्त भएमा पुटिनलाई युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्तातर्फ धकेल्न सकिनेछ भन्ने उनको विश्वास छ, जुन ट्रम्प स्वयंले पनि प्राथमिक कूटनीतिक लक्ष्यको रूपमा अघि सारेका थिए ।

तर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभका अनुसार पुटिनले ट्रम्पलाई ‘किएभलाई टोमहाक आपूर्ति गर्दा युद्धको गतिमा परिवर्तन त आउने छैन, तर अमेरिका–रूस सम्बन्धमा गहिरो क्षति हुनेछ’ भनी चेतावनी दिएका छन् ।

बिहीबार पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले छिट्टै हंगेरीको बुडापेस्टमा रूसी नेतासँग प्रत्यक्ष भेट गरी ‘युद्ध अन्त्यका सम्भावित उपायहरू’ बारे छलफल गर्ने घोषणा गरेका छन् । साथै, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पुटिनका वरिष्ठ सल्लाहकारहरू पनि अर्को हप्ता अनिर्दिष्ट स्थानमा भेट्ने सहमति भएको छ ।

इजरायल र हमासबीचको युद्धविराम र बन्धक सम्झौताको मध्यस्थता गर्दै आएका ट्रम्प अहिले युक्रेन युद्ध अन्त्यलाई आफ्नो प्रमुख विदेश नीति प्राथमिकता बनाउँदै छन् ।