वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन वार्तामा भिडियो साझेदारी एप टिकटकको भाग्यलाई अन्तिम रूप दिने र दुई देशबीचको व्यापार वार्तामा प्रगति गर्ने आशा व्यक्त गरेका छन् ।
‘म राष्ट्रपति सीसँग कुरा गर्दैछु, तपाईंलाई थाहा छ, टिकटक र व्यापारबारे’, ट्रम्पले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भने, ‘हामी सम्झौतामा धेरै नजिक छौँ र चीनसँग मेरो सम्बन्ध धेरै राम्रो छ ।’
जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्प र सीबीच यो दोस्रो र वर्षको सुरुदेखि तेस्रो संवाद हो । जुन ५ मा ट्रम्पले सीलाई अमेरिका निमन्त्रणा गरेका थिए । उनले आफूलाई चीन भ्रमणको प्रस्ताव आएको बताएका थिए ।
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकी कांग्रेसले चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी सञ्चालन बेच्न बाध्य पार्ने कानून बनाएपछि टिकटक विवादित बनेको हो । ट्रम्पले भने बारम्बार प्रतिबन्ध स्थगित गर्दै अन्ततः समाधान खोज्ने संकेत दिएका छन् ।
‘टिकटकमा केही अन्तिम रूप दिने आशा छ’, उनले पत्रकारहरूसँग भने । सम्झौता भए टिकटकको अमेरिकी व्यवसाय अमेरिकी लगानीकर्ताहरू, धनी व्यक्तिहरू र ठूला कम्पनीहरूको स्वामित्वमा रहने उनको भनाइ छ । ट्रम्पले टिकटक एपले युवा मतदातालाई आकर्षित गरेर सन् २०२४ को चुनाव जित्न मद्दत गरेको दाबीसमेत गरे ।
वाल स्ट्रिट जर्नलका अनुसार टिकटकलाई नियन्त्रण गर्न सम्भावित कन्सोर्टियममा ओरेकल र अमेरिकी लगानी कोषहरू सिल्भर लेक तथा एन्ड्रिसन होरोविट्ज सहभागी हुनेछन् ।
यसैबीच, दुवै मुलुकबीच टेलिफोन वार्ता विश्वव्यापी आपूर्ति शृङ्खलामा असर गर्ने स्तरमा पुगेको भन्सार शुल्क विवादबीच भएको हो ।
यस वर्षको सुरुआतमा कर बढाएर तनाव चुलिएपछि वासिङ्टन र बेइजिङले लेवी घटाउने अस्थायी सम्झौता गरेका थिए । सम्झौता नोभेम्बरमा समाप्त हुँदैछ । हाल अमेरिकाले चिनियाँ सामानमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।






