काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी महानिरीक्षक परिवर्तन, सरकारी अधिकारीहरूको पक्राउ तथा रिहाइ र ठूला आयोजनाको ठेक्का प्रक्रियाबारे सरकारले जनतालाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको दीपावली, नेपाल संवत्, छठ तथा सोनाम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकारका निर्णय पारदर्शी र कानुनी प्रक्रियाअनुसार हुनुपर्ने बताए।

ADVERTISEMENT

लिङ्देनले नेपाल प्रहरीको महानिरीक्षक परिवर्तनदेखि पक्राउ परेका सरकारी अधिकारीलाई पुनः जिम्मेवारीमा फर्काइएको घटनासम्मका विषयमा सरकारले आफ्नो निर्णयको आधार सार्वजनिक गर्नुपर्ने धारणा राखे।

ADVERTISEMENT

त्यस्तै, १६ अर्ब रुपैयाँको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया किन रोकियो र त्यसबाट राज्यलाई के फाइदा भयो भन्ने विषय पनि सरकारले स्पष्ट पार्नुपर्ने उनको माग थियो।

उनले लोकतन्त्रको नाममा सर्वसत्तावाद स्थापित हुने खतरा देखिएको टिप्पणी गर्दै विधि, नियम र कानुनी प्रक्रियाभन्दा आदेश र शक्तिका आधारमा मुलुक सञ्चालन गर्ने प्रवृत्तिले संकट निम्त्याउन सक्ने बताए।

लिङ्देनले नेपालको राजनीति नेता, कर्मचारी, व्यापारी र न्यायालयसँग जोडिएका बिचौलियाको प्रभावमा परेको आफ्नो पुरानो विश्लेषण सही साबित हुँदै गएको दाबीसमेत गरे।

कार्यक्रममा उनले राप्रपाका नेता तथा कार्यकर्तालाई पार्टीको भविष्यप्रति निराश नहुन आग्रह गरे। अबको राजनीतिक नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने भन्दै पार्टीलाई थप सुदृढ र सङ्गठित बनाउनुपर्नेमा उनले जोड दिए।

उनका अनुसार देशलाई सम्भावित राजनीतिक दुर्घटनाबाट जोगाउन राप्रपा बलियो हुन आवश्यक छ। आगामी महाधिवेशनबाट सुधारिएको र परिवर्तित पार्टी निर्माण गरी जनतामाझ जानुपर्ने उनको भनाइ थियो।