काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.४३ अंक घटेर २५२८.१६ विन्दुमा झरेको छ।
आज कारोबार रकम पनि घटेको छ। ३१७ स्टकको ३८ हजार ८२७ पटकको कारोबारमा तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँबराबरको ७४ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार करिब पाँच अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। हिमालयन रिइन्स्योरेन्सको १६ करोड, सिईडिबी होल्डिङ्स लिमिटेडको साढे १२ करोड रुपैयाँको कारोबार भएको छ ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। शुभम पावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ ।
१३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत बढेको छ। अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।








