ललितपुर । बिहिबारदेखि सानेपामा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार १ बजे पुनः बस्ने भएको छ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बिहिबारको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि फेरी बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।
वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको चुनौतीलाई जोगाउँदै देशलाई जोगाउने विषयमा छलफल जारी रहेको उनको बताए ।

पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भैरहेको छ, धेरै पदाधिकारीहरुले बोल्न बाँकी रहेको शुक्रबार पनि बोल्नेक्रम जारी रहनेछ, समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने कुरा आएको छ, मंसिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिंदैन भनेर छलफल भएको उनले जानकारी दिए ।
डाक्टर महतले गत भदौ २४ गतेको जेन जेड आन्दोलनमा व्यक्तिका निजी सम्पति, नेता तथा व्यवसायीमाथि, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारवाहीमा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको भन्दै २३ गते भएको घटनाको छानबिन आयोगले विश्वासनीय ढंगले गर्नेमा विश्वास रहेको धारणा राखे ।
भदौ २३ गते भएको आयोगले घटनाको छानविन आयोगले गर्नेछ, २४ गतेको घटनाको कारवाही नगर्ने हो  भने निर्वाचन माथि नै प्रश्न उठ्छ, विगतमा नै हाम्रो दृष्टिकोण सार्वजनिक गरेर २४ गतेको घटनाप्रतिको धारणा सार्वजनिक गरेका छौं, देशमा शान्ति सुरक्षा कायम हुनुपर्छ,२३ गतेको घटनाको कांग्रेसले निन्दा गरेको उनको भनाई छ ।

अराजकतालाई कारवाही नगर्दा पूँजी पलायन हुने खतरा बढेको छ भन्दै उनले अराजकतालाई प्रोत्साहन गर्नेगरी गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गरे ।

ूनेताहरुको घर जलाइएको छ, किसुनजीको आश्रम जलाइएको छ, लोकतान्त्रिक मुल्यमान्यतालाई सिध्याउने षड्यन्त्र भइरहेको छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, आन्दोलनमा गोली चलाउनेहरुको पहिचान गरेर कारवाह हुुनुपर्ने उनको भनाई छ ।
उनले निर्वाचनका लागि कांग्रेस जहिले पनि तत्पर रहेको भन्दै विश्वासनीय निर्वाचनका लागि सरकार गम्भीर भएन भने संसद पुनःस्थापनाको पनि विकल्प हुन सक्छ भन्ने धारणा राखे ।

जेन जेड आन्दोलनपछि पहिलोपटक असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकपूर्व पार्टीका गतिविधि, विकसित राजनीतिक घटनाक्रम, केन्द्रीय समिति वैठकका एजेन्डाका बारेमा छलफल गर्न र महाधिवेशनका बारेमा समेत छलफलका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीहरु समेतको बैठक बसेको हो ।