रसुवा, लाङटाङ ट्रेकिङमा गएका चार जना युवा बेपत्ता भएका छन्। शनिबार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोलाले चार जनालाई बगाएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेम शाहीले जानकारी दिनुभयो।
लाङटाङ जाने बाटोमा एक्कासी आएको बाढीले पदयात्रीहरूलाई बगाएको प्रहरीले जनाएको छ। १६ जनाको टोली ट्रेकिङमा गएकोमा चार जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा मध्यपुर थिमि नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० बस्ने रवि श्रेष्ठ रहेका छन्। अन्य सबै सकुशल रहेको डिएसपी शाहीले बताउनुभयो।
प्रहरीले बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ।







