काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीमाथि कडा आक्रोश व्यक्त गरेका छन् । बुधवार बिहान ताप्लेजुङमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले तत्कालीन प्रधानमन्त्री ओलीले भदौ २३ गते नै राजीनामा दिएको भए संसद् विघटन गर्नुपर्ने अवस्था नआउने बताए ।

आन्दोलनको पहिलो दिन नै ओलीले राजीनामा दिएर संसदबाटै सरकार निर्माणको पहल गरेको भए संसद् जीवित हुनसक्ने भट्टराईले अवस्था औंल्याएका हुन् । उनले भदौ २४ गतेको घटनालाई संगठनात्मक र सुनियोजित विध्वंस पनि भने । सरकारको असावधानी, फितलो सुरक्षा व्यवस्था र सही दृष्टिकोणले सुरक्षाफौजको परिचालन हुन नसक्दा नवयुवाहरूको मृत्यु हुन पुगेको उनले बताए ।

तत्कालीन ओली सरकारले आन्दोलनरत पक्षसँग वार्ताका लागि देखाएको उदासीनताले समेत घटना उत्तेजित हुन पुगेको उनको निष्कर्ष छ । ताप्लेजुङबाट एमाले उम्मेदवार क्षितिज थेबेलाई भोट माग्न योगेश गृहजिल्ला पुगेका हुन् ।

आफू प्रतिनिधिसभाको उम्मेदवार बन्न इच्छुक रहे पनि पार्टीले युवा नेता चयन गरेकोले चयन भएका उम्मेदवार अब एमालेको साझा उम्मेदवारको रूपमा हुने भट्टराईले बताए । एमालेको ११औं महाधिवेशनमा ईश्वर पोखरेल पक्षबाट उम्मेदवारी दिएका भट्टराईलाई ओलीले टिकट नदिएका हुन् । यसपटकको चुनावमा ओलीले पोखरेलसहित पाँचजनालाई मात्रै टिकट दिएका छन् ।