काठमाडौँ, अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको सम्भावना बढेपछि नेपाल सरकारले तीन दिनका लागि लामो दूरी र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाअनुसार असोज १८, १९ र २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यकातर्फ आउने-जाने सवारी साधन सञ्चालन नहुनेछ ।

जल तथा मौसम विज्ञान विभागले यस अवधिमा चट्याङसहित हल्कादेखि अति धेरै भारी वर्षा हुने सम्भावना औंल्याएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई यातायात बन्दको कार्यान्वयन र निगरानी गर्न निर्देशन दिइएको छ ।

प्राधिकरणले यात्रुमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र आधिकारिक माध्यमबाट मात्र अद्यावधिक सूचना लिन आग्रह गरेको छ ।