काठमाडौं, जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई निरन्तर सहयोग गर्दै आएकी समाजसेवी आशिका तामाङको कार्यको प्रशंसा भइरहेका बेला उनीमाथि संकलित रकमको दुरूपयोगबारे सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ।
सामाजिक सञ्जालमार्फतै जवाफ दिँदै तामाङले आफूले संकलन गरेको रकम पारदर्शी रूपमा प्रयोग गरेको बताएकी छिन्। उनले भनिन्–
“पैसा पैसा पैसा ! कहाँबाट ल्याइस ? कसरी दिस ? जस्ले एक रुपैयाँ सहयोग गरेको छैनन्, उहाँहरूले हिसाब मागेको देख्दा छक्क छु म त ! जस्ले सहयोग गर्नु भाको छ उहाँहरूलाई मैले एक–एक रुपैयाँको हिसाब WhatsApp को माध्यमबाट दिएको छु। मलाई के काम पैसा ?? घाइते भाइहरू र मृतक परिवारलाई चाहिएको सहयोग जहाँबाट भए पनि खोजेर पुर्याइरहेकी छु।”
उनले दशैंमा आफ्नै जीवनका सामान्य रहर पनि पूरा गर्न नपाएको उल्लेख गर्दै थपिन्–
“एउटा कपडा किन्ने फुर्सद छैन मेरो। यो दशैंमा एउटा कुर्था किन्ने रहर थियो, त्यो किन्न पनि भ्याइन। तीन पटक शनिबार बैंकमा गएर पनि बिदा भएको कारण पैसा लिन पाइनँ। बल्ल घाइते भाइहरू घर फर्केपछि थोरै समय पाएकी छु।”
शहीद परिवार र घाइतेका लागि निरन्तर सहयोग गर्दै आएकी तामाङले पारदर्शिता सम्बन्धी उठेका प्रश्नलाई अस्वीकार गर्दै आफ्नो अभियानलाई अविच्छिन्न रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।







